Friday, December 31, 2021

लघुसिद्धान्‍तकौमुदी

 लघुसिद्धान्‍तकौमुदी 


संज्ञाप्रकरणम्

मङ्गलाचरणम् 

नत्‍वा सरस्‍वतीं देवीं शुद्धां गुण्‍यां करोम्‍यहम् ।

पाणिनीयप्रवेशाय लघुसिद्धान्‍तकौमुदीम् ।।

अन्‍वय: - अहं शुद्धां गुण्‍यां सरस्‍वतीं देवीं नत्‍वा पाणिनीयप्रवेशाय लघुसिद्धान्‍तकौमुदीं करोमि ।

भावार्थ: - म, वरदराज, शुद्ध र उत्तमगुण भएकी सरस्‍वती देवीलाई प्रणाम गरेर महर्षि पाणिनिद्वारा रचित व्‍याकरणशास्‍त्रीय ग्रन्‍थ अष्‍टाध्‍यायीमा (जिज्ञासु पाठकको) प्रवेशका लागि  'लघुसिद्धान्‍तकौमुदी' ग्रन्‍थको रचना गर्दछु ।

टिप्‍पणी -

१. समाप्तिकामो मङ्गलमाचरेत्  - ग्रन्‍थको निर्विघ्‍न समाप्तिको इच्‍छा गर्नेले मंगलाचरण गर्नुपर्छ । अतः शिष्‍टाचारका अनुसार ग्रन्‍थको निर्विघ्‍न समाप्तिका लागि  यो मंगलाचरण गरिएको हो ।

२. प्रयोजनमनुद्दिश्‍य मन्‍दोपि न प्रवर्तते - बिना कुनै प्रयोजन मूर्ख व्‍यक्ति पनि कुनै कार्यमा प्रवृत्‍त हुँदैन । अतः यो ग्रन्‍थको प्रयोजन 'पाणिनीय व्‍याकरण अष्‍टाध्‍यायीमा सुगमतापूर्वक प्रवेश' गराउनु हो ।

३. लघुसिद्धान्‍तकौमुदी व्‍याकरणको एक प्रकरण ग्रन्‍थ हो जसका रचयिता आचार्य भट्टोजिदीक्षितका शिष्‍य आचार्य वरदराज हुन् । आचार्यप्रवरले पाणिनीय अष्‍टाध्‍यायीलाई सुगमता र प्रासंगिकताका आधारमा लघु बनाउँदै अष्‍टाध्‍यायीका मात्र १,२७५ सूत्रहरू तथा तीसँग सम्‍बन्धित वार्तिकहरूका साथमा यस ग्रन्‍थको रचना गरेका हुन् । समग्र अष्टाध्यायीको सूत्र संख्या ३,९६५ छ ।

यो ग्रन्‍थ (लघुसिद्धान्‍तकौमुदी)आजको समयमा व्‍याकरणका क्षेत्रमा सर्वाधिक पढिने ग्रन्‍थ हो ।

पाणिनीय अष्‍टाध्‍यायी विदेशी भाषाविद्हरूले समेत अध्ययन गरी त्यसैका उदाहरणहरू प्रस्तुत गर्ने गरेका हामीले देखेसुनेकै  र पढेकै हो । यो विश्व कै एक महान ग्रन्थ हो ।

अष्‍टाध्‍यायीमा ८ अध्याय र प्रत्येक अध्यायमा ४-४ पाद छन् । अर्थात् सबै मिलाएर  ३२ पाद अष्टाध्यायीमा छन् । हरेक पादमा भिन्न -भिन्न संख्यामा सूत्रहरू छन् । समग्र अष्टाध्यायीको सूत्र संख्या ३९६५ रहेको छ । प्राचीन कालमा यो सम्पूर्ण अष्टाध्यायी कण्ठस्थ गर्ने गरिन्थ्यो  ।

माहेश्वर सूत्रहरू :

१. अइउण्   २. ऋऌक्   ३. एओङ्  ४. ऐऔच्  ५. हयवरट्     ६. लण्   ७. ञमङणनम्  ८. झभञ्   ९. घढधष्                  १०. जबगडदश्  ११. खफछठथचटतव्   १२. कपय्           १३. शषसर्   १४. हल्

माहेश्वर सूत्रको उत्पत्ति भगवान नटराज (शिव) द्वारा गरिएको ताण्डव नृत्यबाट भएको मानिन्छ ।

"नृत्तावसाने नटराजराजो ननाद ढक्कां नवपञ्चवारम्।उद्धर्तुकामः सनकादिसिद्धान् एतद्विमर्शे शिवसूत्रजालम् ।"

अर्थात्  "नृत्य (ताण्डव) को अवसान (समाप्ति) मा नटराज (शिव)ले सनकादि ऋषिहरूको सिद्धि र कामनाको उद्धार (पूर्ति)का लागि नवपंच (चौध)पटक डमरू बजाए । यस प्रकार चौध शिवसूत्रहरूको यो जाल (वर्णमाला) प्रकट भयो।"

डमरु  चौध पटक बजाउँदा  चौध सूत्रहरूका  रूपमा ध्वनि निस्कियो, यिनै ध्वनिहरूबाट व्याकरण प्रकट भयो । यसर्थ  व्याकरण सूत्रका आदि-प्रवर्तक भगवान नटराज लाई मानिन्छ । यो कुरा प्रसिद्ध छ कि महर्षि पाणिनिले यी सूत्रहरू देवाधिदेव शिवको आशीर्वादले प्राप्त गरे जो पाणिनीय संस्कृत व्याकरणको आधार बन्यो ।

************************************* 
              

No comments:

Post a Comment