Thursday, May 23, 2024

यात्रा वृत्तान्त

        यात्रा वृत्तान्त          

सन् २०२४ मे ९ का दिन भारतीय समयानुसार बेलुका ८:४५ बजे सीमाञ्चल एक्सप्रेसको 2A AC coach बाट दिल्लीको आनन्द विहार टर्मिनलसम्मको २४ घण्टे रेलको यात्रा गरिय‍ो । रेल निर्धारित समय मै छुट्यो ।
जोगबनीबाट फारबेसगञ्ज, अररिया कोर्ट, पूर्णियाँ, कटिहार, नौगछिया, खगडिया, बेगुसराय, बरौनी, पाटलीपुत्र, दानापुर, दिलदारनगर, पं. दीनदयाल उपाध्याय जं., मिर्जापुर, प्रयागराज, कानपुर सेन्ट्रल, टुण्डला, अलिगढ, गाजियाबाद र तिनीहरूका बीचमा पर्ने अन्य थुप्रै halt station हरू हुँदै दिल्लीको आनन्द विहार टर्मिनलसम्मको २४ घण्टे रेल यात्रा गरियो । निर्धारित समयभन्दा १५ मिनेट जति ढिलो गरी रेलले १० मे का दिन बेलुका ९:०० बजेतिर आनन्द विहार टर्मिनल पुर्‍यायो । रेलको यात्रा आनन्ददायी नै रह्यो ।

४१/४२ वर्षपछि दिल्लीको यात्रामा थिएँ । त्यो बेलादेखि आजका दिनसम्म दिल्लीमा पक्कै ठूलो परिवर्तन भएको हुनुपर्छ भन्ने सोचमा थिएँ । वास्तव मै धेरै ठूलो परिवर्तन भएको रहेछ । दिल्ली पुग्दा अनौठो अनुभूति भयो ।

दिल्ली आइपुगेको केही समय मै आमोद सिंहजीले हामीलाई हरियाणाको गुरूग्रामतर्फ लानुभयो र बेलुका ११:१५ बजेतिर (त्यस्तै १.५ घण्टापछि) गुरूग्राम पुगेर मेदान्त हस्पिटल नजिकै रहेको पिटरजीले सञ्चालन गर्नु भएको कान्तिपुर होटलमा बास बसियो ।

११ मे का दिन बिहानै उठेर मेदान्त हस्पिटल गइयो र त्यसै दिन गुरूग्रामबाट बिहानको लगभग १०:३० बजेतिर आमोद सिंहजीले हामीलाई पिटरजीको गाडीमा उत्तर प्रदेशमा पर्ने दिल्ली नजीकै रहेको नोएडा दिउँसो १२:०० बजेतिर पुर्‍याउनुभयो । नोएडा पुगेर सेक्टर नं. १५ मा पर्ने होटल कादिस (Hotel Quadis) मा ३ दिनको लागि कोठा भाडामा लिएर बसियो ।

नोएडा (Noida) भारतको दिल्लीसँग जोडिएको एउटा उपनगरीय क्षेत्र हो । यो भारतको उत्तर प्रदेश राज्यमा अवस्थित छ । यसको जनसंख्या करीब ५ लाख छ र यो २०३ वर्ग कि.मी. मा फैलिएको छ । यसको नाम अंग्रेज़ीको New Okhla Industrial Development Authority (नवीन ओखला औद्योगिक विकास प्राधिकरण) को संक्षिप्त रूप NOIDA बाट बनिएको हो । यो शहर विभिन्न सेक्टरहरूमा विभाजित  छ ।  यो भारतको राष्ट्रीय राजधानी क्षेत्र (National Capital Region/NCR) को एक भाग हो ।

यसपालि २०२४ मे ११ तारिखका दिन नोएडा आइयो । मैले आजभन्दा ४२ वर्ष पहिले सन् १९८२/०८३ ताका देखेको नोएडा र आजको नोएडामा धेरै फरक भएछ । त्यो बेला यो शहर एउटा सानो गाउँ जस्तै लाग्थ्यो तर आज आएर हेर्दा धेरै ठूलो परिवर्तन देखियो । अहिले त ठूलाठूला गगनचुम्बी भवनहरू बनिएछन् र मेट्रो रेल कुद्न थालेछ । विश्वविद्यालय र अन्य धेरै शैक्षिक संस्थाहरू खुलेछन् । विभिन्न भारतीय टेलिभिजन च्यानलका कार्यालयहरू पनि यहिँ रहेछन् । समग्रमा भन्नुपर्दा अहिले दिल्ली र नोएडामा कुनै फरक नै नछुट्टिने रहेछ ।

त्यसै गरी मे १३ तारिखका दिन भंगेल बजार र महर्षि आश्रम पनि पुगियो । महर्षि आश्रम त्यो आश्रम हो जहाँ मैले सन् १९८२ देखि लगभग डेढ वर्षसम्म भावातीत ध्यान, योगासन र रूद्राभिषेकको अभ्यास गरेको थिएँ । तर अहिले त्यस ठाउँको महर्षि आश्रममा Maharshi University of Information Technology, महर्षि विद्या मन्दिर जस्ता प‌ैसा तिरेर पढ्नु पर्ने संस्थाहरू खोलिएको रहेछ । त्यति बेलाको पुरानो स्वरूपमा जब हजारौं विद्यार्थीहरूले आश्रममा नि:शुल्क भोजन, आवास, लत्ताकपडा लगायत दैनिक आवश्यकताका सबै वस्तु र सेवाहरू पनि नि:शुल्क रूपमा प्राप्त गरी मासिक छात्रवृत्ति समेत प्राप्त गरेर वेदाध्ययन, रूद्राभिषेक, भवातीत ध्यान, त्रिकाल संन्ध्या, योगासन आदिको अभ्यास गर्थे, आज त्यो स्वरूप रहेनछ । त्यो देख्दा दु:ख पनि लाग्यो । तै पनि पुरानो ठाउँ जान पाउँदा मन हर्षित पनि भयो ।

नोएडाबाट भंगेलतिर जाँदा त्यो बेलामा बाटाको दुबैतिर कतैकतै स-साना झुप्राहरू हुने गर्थे भने कतै बबुलका रूखहरू देखिने गर्थे । त्यसै गरी अधिकांश ठाउँहरू खाली नै हुने गर्थे । तर अहिले त त्यो इलाकामा नोएडादेखि भंगेलसम्म नै दुबैतिर देख्दै कहाली लाग्दा गगनचुम्बी भवनहरू र अपार्टमेन्टहरू बनिएका रहेछन् । बाटो पनि विशाल बनिएको रहेछ । त्यो बेलादेखि आजसम्म धेरै ठूलो परिवर्तन भएको रहेछ ।

नोएडा सेक्टर नं. १५ र १६  का मेट्रो स्टेशनहरू नजिक-नजिक नै रहेका रहेछन् । एउटाबाट अर्कोको दुरी हिँडेरै जाँदा पनि त्यस्तै लगभग १५ मिनेट जति लाग्ने रहेछ । मे १४ तारिखका दिन नोएडाको सेक्टर नं. १५ को मेट्रो स्टेशनबाट मेट्रो रेलको टिकट गरेर दिल्लीको स्वामीनारायण अक्षरधाम मन्दिर गइयो । नोएडा सेक्टर नं. १५ को मेट्रो स्टेशनबाट अक्षरधाम मेट्रो स्टेशनको टिकट दर प्रतिव्यक्ति रू. ३०/- लाग्ने रहेछ । नोएडा सेक्टर नं. १५ को मेट्रो स्टेशनबाट अक्षरधाम मेट्रो स्टेशनसम्म मेट्रो रेलमा जाँदा निम्नलिखित स्टेशनहरूमा मेट्रो रेल रोकिने रहेछ:
- Noida Sector 15 (यहाँबाट शुरू)
- New Ashok Nagar
- Mayur Vihar Extention
- Mayur Vihar 1
- Akshar Dham (यो गन्तव्य)
नयाँ दिल्लीमा अवस्थित स्वामीनारायण अक्षरधाम मन्दिर  परिसर १०० एकड़ भूमिमा फैलिएको र विशाल हिन्दु मन्दिर परिसर भएकोले २६ डिसेम्बर २००७ मा यसलाई गिनीज बुक अफ व‌र्ल्ड रेकर्ड्समा सामेल गरिएको बताइन्छ । यो मन्दिर गुलाबी पत्थर र सेतो मार्बलको प्रयोग गरी बनाइएको र मन्दिरको निर्माणमा स्टील, फलाम र कंक्रीटकाे प्रयोग नगरिएको बताइन्छ ।
त्यसै गरी अक्षरधाम मन्दिरको दर्शन गरी पुन: मेट्रो रेलको टिकट गरेर अक्षरधाम मेट्रो स्टेशनबाट नोएडाको सेक्टर नं. १५ को मेट्रो स्टेशन आएर सेक्टर नं. १६ मा हामी बसेको  होटल कादिसमा रहेका आफ्ना सामानहरू लिएर त्यहाँबाट ट्याक्सीमा गुरूग्राम आई पुन: मेदान्त हस्पिटलको छेउमा पिटरजीको कान्तिपुर होटलमा बास बसियो ।

मे १४ तारिखका दिन नोएडाबाट पुन: हरियाणाको गुरूग्राम आएर कान्तिपुर होटलमा बास बसी १५ तारिख बिहान मेदान्त हस्पिटल गइयो । मेदान्त हस्पिटलमा जान र वहाँ पुगेपछि पनि कान्तिपुर होटलका प्रोपराइटर पिटरजीले ठूलो सहयोग गर्नुभयो । त्यसका लागि वहाँलाई धेरैधेरै धन्यवाद !

गुरुग्राम भारतीय राज्य हरियाणाको एक नगर हो र यो भारतको राष्ट्रीय राजधानी क्षेत्र दिल्ली (Delhi NCR) सँग जोडिएको छ । यो नगर दिल्लीभन्दा ३२ कि.मी. दक्षिण-पश्चिममा अवस्थित छ । मान्यता अनुसार महाभारत कालमा इन्द्रप्रस्थका राजा युधिष्ठिरले यो गाउँ आफ्ना गुरु द्रोणाचार्यलाई दिएका थिए । उनकै नामबाट यसलाई 'गुरुग्राम' अर्थात् 'गुरूको गाउँ' भन्न थालियो र कालान्तरमा 'गुरुग्राम' भन्दाभन्दै 'गुड़गांव' भन्न थालिय‍ो । महान गुरुभक्त एकलव्यको गुड़गांवसँग गहिरो सम्बन्ध छ । यस‌‌ै स्थानमा गुरु द्रोणाचार्यले एकलव्यसँग औंलो मागेका थिए ।

१९५० को दशकसम्म गुरुग्राम एउटा सानो गाउँ थियो र यसको अर्थव्यवस्था कृषिमा आधारित थियो । आसपासका क्षेत्रहरूको तुलनामा यहाँको माटो कम गुणस्तरको भएको कारण यहाँ जमिनको मूल्य निकै  कम थियो । यसको लाभ उठाउँद‌ कैयौं कम्पनीहरूले ८० र ९० को दशकमा यहाँ औद्योगिक क्षेत्र स्थापना गर्न शुरू गरे ।

प्रसिद्ध cardiovascular र cardiothoracic सर्जन Dr. Naresh Trehan द्वारा स्थापित मेदान्त हस्पिटल पनि यहीँ अवस्थित छ जसमा स्वास्थ्य सेवाको सुनिश्चितताको लागि निम्नानुसारको जनशक्ति, भौतिक पूर्वाधार र सेवासुविधाहरू रहेको बताइएको छ:
- 43-acre campus
- 30+ medical specialities
- 900+ doctors
- 40 operation theatres
- 1,391 operational beds
- 270+ ICU beds
- JCI and NABH accreditation
- NABL accreditation

मे १४ र १६ तारिखका दिन नयाँ र पुरानो दिल्ली अन्तरगत पर्ने निम्नलिखित स्थलहरूको भ्रमण गरियो। (अक्षरधाम मन्दिरको वर्णन माथि नै गरिसकिएकोले तल दिइएको छैन)।
भ्रमण गरिएका दिल्लीका विभिन्न स्थलहरू:

१. अक्षरधाम मन्दिर (Akshadhaam Temple)
२. कुतुब मीनार  (Qutub Minar)
३. लोटस टेम्पल (Lotus Temple)
४. लाल किल्ला (Red Fort)
५. गान्धी समाधि (Gandhi Samadhi)
६. इण्डिया गेट (India Gate)
७. राष्ट्रपति भवन (Rashtrapati Bhawan)
८. सरोजिनी मार्केट (Sarojini Market)

दिल्ली शहर यमुना नदीको किनारमा अवस्थित प्राचीन शहर हो । वर्तमान समयमा भारतको राजधानी नयाँ दिल्ली हो । नयाँ दिल्ली र पुरानो दिल्लीलाई स्पष्ट सीमाङ्कन गर्न त गाह्राे नै होला तर पनि पुरानो दिल्ली महाभारत कालीन पाण्डवहरूको समयदेखि मुगल शासनकालको पनि केन्द्र थियो भने नयाँ दिल्ली अंग्रेजहरूले कलकत्ताबाट राजधानी दिल्ली सारेपछि डिजाइन गरेका थिए । पुरानो दिल्लीलाई महाभारत कालमा इन्द्रप्रस्थ भनिन्थ्यो जो पाण्डवहरूको राजधानी थियो ।
नयाँ दिल्लीमा राष्ट्रपति भवन, संसद भवन र इण्डिया गेटहरू आदि पर्दछन् । अन्य देशहरूका दूतावासहरू नयाँ दिल्लीकै दक्षिणपट्टि छन् भने पुरानो दिल्लमा पुराना स्मारकहरू र मुगल वास्तुकलाका नमूनाहरू देख्न सकिन्छ । लाल किल्ला, जामा मस्जिद, आदि पुराना दिल्लीका केही पुराना स्मारकहरू हुन् ।

१. कुतुब मीनार

दिल्लीको महरौली स्थित कुतुब मीनारको निर्माण कुतुबुद्दीन ऐबकद्वारा सन् ११९३ शुरू गराइएको थियो ।
पछि इल्तुतमिशले तीन तला थपे भने त्यसपछि १३६८ मा फिरोजशाह तुगलकले अन्तिम पाँच तलाको निर्माण गराएका थिए । कुतुब मीनारलाई यूनेस्कोद्वारा विश्व धरोहर स्थलका रूपमा सामेल गरिएको छ । कुतुब मीनारका परिसरमा चन्द्रगुप्त द्वितीयद्वारा निर्मित एउटा लौह स्तम्भ स्थित छ जसमा आजसम्म खिया नलागेको बताइन्छ ।

२. लोटस टेम्पल

लोटस टेम्पल अर्थात् कमल मन्दिरको निर्माण १९८६ मा बहाई धर्मका मानिसहरूले गरेका थिए । लोटस मन्दिर दिल्लीमा नेहरू प्लेस नजीक अवस्थित छ । यो एउटा अनौठो मन्दिर हो । यसमा कुनै पनि देवीदेवताहरूको मूर्ति छैन र मन्दिरमा कुनै भगवानको पूजा अर्चना गरिँदैन । मन्दिरमा सबै धर्मलाई सामान मानिन्छ । मन्दिरमा सबै धर्मका धार्मिक ग्रन्थहरू पढिन्छ । 

३. लाल किल्ला

मुगल वास्तुशैलीमा रातो पत्थरले निर्मित यमुना नदीको किनारमा स्थित यो प्राचीन ऐतिहासिक किल्ला दिल्लीको एक प्रसिद्ध पर्यटन स्थल हो । यसको निर्माण तोमर राजा अनङ्गपाल द्वितीयको समयमा सन् १०६० मा गराइएको थियो । तत्पश्चात यो किल्लाको निर्माण मुगल बादशाह शाहजहाँद्वारा १६३८ मा गराइएको थियो जुन १६४८ मा लगभग १० वर्षको अवधिमा बनिएर पूरा भएको थियो ।   लाल किल्लालाई यूनेस्कोद्वारा विश्व धरोहर स्थलका रूपमा २००६ मा सामेल गरिएको थियो ।

४. राजघाट गान्धी समाधी

यमुना नदीको पश्चिमी किनारमा महात्मा गान्धीको समाधिस्थल रहेको छ । कालो मार्बलद्वारा निर्मित यस समाधिमा गान्धीद्वारा बोलिएको अन्तिम शब्द "हे राम" उद्धृत गरिएको छ । अहिले यो स्थानले एउटा सुन्दर बगैंचाको रूप लिइसकेको छ । यहाँ सुन्दर पानीको झरना र अनेक प्रकारका वृक्षहरू लगाइएको छ । यहाँ नजिकै रहेको शान्ति वनमा भारतको पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको समाधि रहेको छ । भारत आउने विदेशी उच्चाधिकारीहरू महात्मा गान्धीलाई श्रद्धाञ्जली प्रकट गर्नका लागि राजघाट अवश्य आउने गर्छन् ।

५. इण्डिया गेट

इण्डिया गेटलाई प्रथम विश्वयुद्ध र अफगान युद्धमा सहिद भएका ९०००० भारतीय सैनिक जवानहरूको स्मृतिमा  १९३१ मा बनाइएको थियोे । यसको रूपरेखा एडवर्ड लुटियान्सले तयार गरेका थिए । नयाँ दिल्लीको कर्तव्य पथमा अवस्थित ४३ मिटर अग्लो राष्ट्रीय स्मारक हो यो ।

६. राष्ट्रपति भवन

राष्ट्रपति भवन भारत सरकारका राष्ट्रपतिको सरकारी निवास हो । वर्तमानमा भारतका राष्ट्रपतिहरू ती कोठामा बस्दैनन् जहाँ अंग्रेजहरूको जमानामा भायसरायहरू बस्ने गर्थे । हिजोआज उनीहरू अतिथि-कक्षमा बस्छन् र आगन्तुकहरूँग भेट गर्दछन्  ।

७. सरोजिनी मार्केट

सरोजिनी नगर मार्केट दिल्लीको सबैभन्दा सस्तो बाजारहरूमा गनिन्छ । यो बजारमा सस्तो मूल्यमा जीन्स, फुटवियर, ब्याग, चश्मा लागायतका हरेक किसिमका अन्य वस्तुहरू पनि सस्तो मूल्यमा पाइन्छ ।

मे १४ तारिखका दिन अक्षरधाम, मे १५ का दिन मेदान्त हस्पिटल  र मे१६ का दिन दिल्लीका माथि उल्लेख गरिएका केही महत्वपूर्ण ठाउँहरू घुमेपछि १७ तारिखका दिन हरियाणाको गुरूग्रामबाट वृन्दाबन आएर बेलुका बाँके विहारीको दर्शन गरियो भने १८ तारिखका दिन वृन्दाबन कै रङ्गनाथ मन्दिर, केशीघाट, राधारमण मन्दिर, निधिबन, कृष्ण बलराम मन्दिर (जसलाई ISKCON Temple वा अंग्रेज मन्दिर पनि भनिन्छ) र प्रेम मन्दिरको दर्शन गरियो ।१८ तारिख कै दिन केशीघाट स्थित यमुना नदीको किनारमा अवस्थित प्रेम महाविद्यालय इण्टर कलेज गई त्यहाँका प्रिन्सिपल सर र हिन्दी विषयका अध्यापक सर दुबैजनासँग कलेजको कार्यालयमा भेटघाट गरी केही समय आपसी वार्तालाप पनि भयो । प्रिन्सिपल सरले चियाको अर्डर गर्नुभयो तर अत्यन्तै गर्मीको कारण चियाभन्दा पनि चिसो पानी खाने भनेर चिसो पानी खाइयो । मैले आफूले इण्टर मिडिएटको अध्ययन गरेको कलेज आज लामो समयपछि पुग्न पाउँदा म निक्कै भावुक पनि हुन पुगेँ । कलेज चलिरहेकै थियो । विद्यार्थीहरू अध्ययन कार्यमा व्यस्त थिए । अध्यापकहरू अध्यापन कार्यमा व्यस्त हुनुहुन्थ्यो । निर्माणमर्मतको काम पनि चलिरहेकै रहेछ । लगभग ४०/४५ मिनेटसम्म प्रिन्सिपल सरको कार्यकक्षमा बसेर प्रिन्सिपल सर लगायत अन्य सरहरूसँग कलेजको वर्तमान पठनपाठन लगायतका विविध पक्षहरू बारे कुराकानी भयो । तर दु:खको कुरो के भने मैले उक्त कलेजमा अध्ययन गर्दाको समयका प्राय: सबै अध्यापक सरहरू बितिसक्नु भएको रहेछ । त्यो सुनेर दुःख लाग्यो । अहिले प्रिन्सिपल सर लगायत सबै अध्यापकहरू प्रायः नयाँ हुनुहुँदो रहेछ । तै पनि मैले उक्त कलेजबाट ३५ वर्षअघि इण्टर मिडिएट उत्तीर्ण गरेयता आज पहिलो पटक आफूले अध्ययन गरेको उक्त कलेजमा पुग्दा आनन्दको अनुभूति भयो र आज त्यहाँका विद्यार्थीहरू देख्दा मैले उनीहरूको आत्मामा आफ्न‌ै आत्मा देखेँ ।

मे १९ तारिखका दिन वृन्दाबनको पागल बाबा मन्दिर र मथुराको श्री कृष्ण जन्मभूमिको दर्शन गरेपछि गोवर्धनक‍‍ो दानघाँटी मन्दिर, मानसी गंगा र गोवर्धन पर्वतको दर्शन गरियो ।

मे २० तारिखका दिन वृन्दाबनका गोरे दाउजीको आश्रममा पुगेर ठाकुरजीको दर्शन गरियो । गोरे दाउजीको आश्रम पहिलको जस्तो नभई धेरै परिवर्तन भएछ । सन्त र विद्यार्थीहरूको चाप पहिलेको जस्तो देखिएन । केही सीमित सन्तहरू मात्र हुनुहुँदो रहेछ । आश्रमका भवनहरूको संरचना पनि परिवर्तन भएछ । पहिलेको विद्यार्थीहरू बस्ने गुफातिर अहिले गौशाला बनिएको रहेछ । त्यहाँका एकजना सन्त, जो ४५ वर्षदेखि त्यहीँ हुनुहुँदो रहेछ, सँग भेटघाट र वार्तालाप गरियो । त्यतैबाट हुँदै गोधुलीपुरम् स्थित हरि गुरूजीको निवासमा पुगेर परिवारजनसँग भेटघाट गरियो र अपरान्हतिर भजनकुटी पुगेर चामुण्डा देवीको दर्शन गरियो । म गोविन्दशरण बाबा र गोपालशरण बाबालाई पनि भेट्न भजनकुटी गएको थिएँ; तर दु:खको कुरा भजनकुटीका गोविन्दशरण बाबाको ७ महिनाअघि नै परमधाम गमन भएछ । गोपालशरण बाबासँग चाहिँ भेट हुन सकेन । अटलाचुङ्गीदेखि भजनकुटीसम्म पुग्दा धेरै ठूलो परिवर्तन देखियो । पहिलेका खाली जग्गाहरूमा बाटाका दुबैतर्फ भवनहरू र ठूलाठूला आश्रमहरूले भरेका रहेछन्   । त्यस्तै त्यो बेलाको गोरेदाउजी पछाडिपट्टिको (अटलाचुङ्गीदेखि गोरेदाउतिर आउँदा दाहिनेपट्टि पर्ने क्षेत्र)जंगलले भरिएको क्षेत्र अहिले गोधुलीपुरम् भएछ र भवनहरूले भरिएछ ।

केही दिनको बाहिर बसाइपछि मे २१ तारिखका दिन अपरान्ह १२:४४ बजेतिर वृन्दाबनबाट प्रस्थान गरेर सोनौली नाका हुँदै नेपाल प्रवेश गरी बुटवल, नवलपरासी, नवलपुर हुँदै मे २२ का दिन राती १२:०० तिर सकुशल घर आइयो ।
                                    ***

No comments:

Post a Comment