Thursday, October 6, 2022

छन्दको परिचय, इतिहास र छन्दमा कविता लेख्ने तरिका

           छन्दको परिचय, इतिहास र छन्दमा                                            कविता लेख्ने तरिका 


छन्द शास्त्रीय काव्यको महत्त्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्य-काव्यमा छन्दको महत्त्व प्रमुख रूपमा रही आएको छ । छन्द भनेको कविताको 'लय' हो  तापनि परम्परागत रूपमा छन्दले कविताका सबै किसिमको लयलाई नसमेटेर शास्त्रीय नियमअनुसार गण-मात्राको व्यवस्था गरी भावना अभिव्यक्त गर्ने कविताको लयलाई मात्र बुझाउँछ ।

छन्दलाई 'वृत्त' पनि भनिन्छ । छन्दले कवितामा श्रुतिमधुर्य सिर्जना गरी श्रोतालाई सन्तुष्टि वा आनन्द दिन्छ । अङ्ग्रेजीमा छन्दलाई 'मापक' अर्थात् 'Meter' भनिन्छ भने ल्याटिनमा हलोले जोतेको कलात्मक सियोतर्फ सङ्केत गर्दै 'हुवर्सस' भनिएको पाइन्छ । छन्द वेदको अर्को नाम हो । वर्णहरू र मात्राहरूको गेय व्यवस्थालाई छन्द भनिन्छ । कल्प, शिक्षा, निरुक्त, छन्द र ज्योतिषशास्त्रलाई वेदको अङ्ग मानिन्छ । पाणिनिको व्याकरणमा ' छन्द: पादौ तु वेदस्य ' भनी छन्दलाई वेदको पाउ वा गति, गतिवाहक वस्तु वा तत्त्वका रूपमा हेरिएको छ । छन्दको प्रयोगले काव्यलाई स्तरीय, प्रभावकारी र पाठकलाई सहजै स्पर्श गर्छ । छन्द भनेको कविताको 'लय' हो । नेपाली बृहत् शब्दकोशमा छन्दलाई " यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित रूप, त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य" भनेर परिभाषित गरिएको छ । 

छन्दको सर्वप्रथम उल्लेख ऋग्वेदमा गरिएको छ। यदि गद्यको नियम व्याकरण हो भने पद्यको नियम छन्दशास्त्र हो। मैथुनरत क्रौञ्च दम्पती (कर्‍याङ्कुरुङ्को जोडी) मध्ये एउटालाई व्याधाले मारेको दृष्यबाट पीडित महर्षि वाल्मीकिका मुखबाट लौकिक संस्कृत पद्यका रुपमा अचानक निस्किएको श्लोकलाई पहिलो पद्य मानिएको छ भने लौकिक संस्कृत साहित्यमा प्रयुक्त प्रथम छन्दको उपमा पनि अनुष्टुप् छन्दले पाएको छ ।

उक्त श्लोक यस प्रकार रहेको छ:

मा निषाद ! प्रतिष्ठात्वमगम: शाश्वती: समा: ।

यत्क्रौञ्चमिथुनादेकमवधी: काममोहितम् ।।

अर्थ: 

हे दुष्ट, तैँले प्रेममा मग्न क्रौंचपक्षी(कर्‍याङ्कुरुङ्)लाई मारिस्। जा तँलाई अब  कहिल्यै पनि प्रतिष्ठा प्राप्ति हुनेछैन र तैँले पनि वियोग भोग्नु पर्नेछ ।

-वाल्मीकि रामायण, बालकाण्ड, २:१५

वर्णको परिचय तथा वार्णिक छन्दका नियमहरू:

क्रम    सूत्र        सङ्केत   गण           उदाहरण


१) यमाता       ISS       'य'     गरेरै , बिहानी , खटाई , पुरानो

२) मातारा      SSS      'म'        देखाए , नेपाली , उत्साही

३)  ताराज      SSI      'त'         सौन्दर्य , सच्चाइ , उत्थान

४) राजभा      SIS        'र'       कल्पना , सम्झना , दृष्टिले

५) जभान     ISI      'ज'     अनेक , बजार , बिहान , लिएर

६)  भानस      SII     'भ'       मानव , बन्दुक , बञ्चित

७)  नसल     III       'न'     कलम , तिलक , रसिक , दमन

८)  सलगा     IIS      'स'      रसुवा , कविता , अगुवा


मात्रा र वर्णको आधारमा छन्दको विभाजन

छन्दहरूको विभाजनमात्राहरूको र वर्णहरूको चरण-भेद-सम्बन्धि विभिन्न संख्याहरूमा आधारित हुन्छ।

यस कारणले छन्दको प्रकार:

- सम: सम छन्दहरूमा छन्दको चारवटै चरणहरूमा वर्णस्वरसंख्या समान रहन्छ।


- विशम: विषम छन्दको चारवटै चरणहरूमा वर्णहरू र स्वरहरूको संख्या असमान रहन्छ। यो वर्ण परस्पर फरक हुन्छ। वर्णहरू रमात्राहरूको केही निश्चित संख्याको पछाडी बहुसंख्यक वर्णहरू र स्वरहरूले युक्त छन्दलाई दंडक भनिन्छ। यसको प्रकारहरू धेरै छन्।-

- अर्धसम: अर्धसमको पहिलो, तेस्रो र दोस्रो तथा चौथोंमा वर्णस्वर संख्या समान रहन्छ।

स्वतन्त्र वा मिश्रितको आधारमा छन्दको विभाजन: 

- स्वतन्त्र छन्द: स्वतन्त्र छन्द एकै छन्द विशेष नियमबाट बनेको हुन्छ ।

 मिश्रित छन्द  २ प्रकारका हुन्छन् ।

- जब २ छन्दहरूको चरण एक आपसमा मिलेको हुन्छ। प्राय: यो अलग-अलग देखिन्छ तर प्राय फरक देखिंदैन।

- जब २ स्वतंत्र छन्दको स्थान-स्थानमा राखिन्छ र कैलेकाँई उनिहरूलाई मिलाउने प्रयत्न गरिन्छ। जस्तै: कुंडलिया छन्द, एउटा दोहा र ४ पद रोलालाई मिलाएर बन्द छ।


यतिको आधारमा छन्दको विभाजन: 

- यत्यात्मक: निश्चित वर्णहरू यामात्राहरूमा यति राखीन्छ। यो छन्द प्राय: दीर्घाकारी हुन्छ। जस्तै: दोहा, कवित्त आदि।

- अयत्यात्मक: जुन छन्दहरूमा चौपाई, द्रुत, विलंबित जस्तो छन्द आउँछ भने। यतिको विचार गरेर गणात्मक वृत्तहरूमा पनि गणहरूो बीचमा यति राखीन्छ। जस्तै:मालिनी।

वैदिक र लौकिक छन्द विभाजन:

- वैदिक छन्द: जसको प्रयोंग वेदहरूमा गरिएको छ। यसमा ह्रस्व, दीर्घ, प्लुत र स्वरित, यो चार प्रकारको स्वरहरूको विचार गरिन्छ। र "अनुष्टुप" इत्यादि। वैदिक छन्द "अपौरुषेय"मानिन्छ।

- लौकिक छन्द: यसको प्रयोग वेदमा नगरेर सामान्य लोक वा जनसमुदायमा गरिन्छ। यो छन्द कुनै निश्चित नियममा आधारित नभएर ताल र लयमा आधारित रहन्छ।

पिङ्गलको आधारमा छन्द विभाजन:

पिङ्गलले विभिन्न छन्दका बारेमा बताए। यी छन्द तीन थरी छन्

- वार्णिक छन्द: छन्दमा वर्णहरूको संख्या र, लघु र दीर्घको क्रमहरू निश्चित हुन्छ। गणको सम्बन्ध वार्णिक छन्दसँग हुन्छ।

- मात्रिक छन्‍द:मात्रिक छन्दमामात्राहरूको गन्ती गरिन्छ। यो छन्दमा वर्णहरूको संख्या र, लघु र दीर्घको क्रमहरू निश्चित हुँदैन। यो छंदमा सबै चरणहरूकोमात्राको संख्याहरू समान हुन्छ।

- वर्णमात्रा छन्द: यो छन्दमा वर्णिक वामात्रिक रोकटोक हुँदैन।

छन्दका अङ्ग:

- चरण: छन्दको प्रत्येक पंक्तिलाई चरण या पाउ या पद भनिन्छ। अरु नाम: पद, पाद, पाउ।

- वर्ण: एकै स्वर हुने ध्वनिलाई वर्ण भनिन्छ।

- मात्रा: कुनै वर्ण या ध्वनिको उच्चारण समयलाईमात्रा भनिन्छ।

- संख्या र क्रम: वर्ण र मात्राहरूको गणनालाई संख्या भनिन्छ। लघु-गुरूको स्थान निर्धारणलाई क्रम भनिन्छ।

- गण: (गणको सम्बन्ध वार्णिक छन्दसँग छ।)

- गति: छन्दलाई पढ्दा लिने समयलाई गति(speed) भनिन्छ। लघु् वा ह्रश्वलाई कम र गुरू वा दीर्घलाई बढी समय लाग्छ ।

- यति (छन्द): छन्दमा स्वास लिन रोकिने ठाउँलाई यति वा विराम भनिन्छ।

- तुक: एउटै उच्चारण हुने शब्दहरूको प्रयोगलाई तुक भनिन्छ ।


छन्दको प्रकार (पिङ्गल):

अनुष्टुप छन्द

विद्युन्माला छन्द

इन्द्रवज्रा छन्द

उपेन्द्रवज्रा छन्द

उपजाति छन्द

वंशस्थ छन्द

स्रग्विणी छन्द

स्वागता छन्द

भुजङ्गप्रयात छन्द

तोटक छन्द

द्रुतविलम्बित छन्द

वसन्ततिलका छन्द

मालिनी छन्द

पञ्चचामर छन्द

मन्दाक्रान्ता छन्द

चित्रवतीहरिणी छन्द

चित्रलेखा छन्द

शिखरिणी छन्द

शार्दूलविक्रीडित छन्द

स्रग्धरा छन्द

आर्या छन्द

शालिनी छन्द

ललिता छन्द

पृथ्वी छन्द

मञ्जुभाषिणी छन्द


छन्दमा संगीत

प्राय: सबै छन्द कुनै न कुनै रूपमा गेय हुन्छ। राग र रागिनीवाला सबै पद छंदहरूमा भन्न सकिंदैन। त्यसैले "गीति" नामबाट कतिपय पदहरू रचिएको छ। प्राय: संगीतात्मक पदहरूमा स्वरको आरोह र अवरोहमा लघु वर्णलाई दीर्घ, दीर्घलाई लघु र अल्प लघु गरिन्छ।

छन्दमा कविता कसरी लेख्ने ?  

सिकारूहरूका लागि:


 १) सबैभन्दा पहिले लघु र गुरु वर्ण वा अक्षर केके र कुनकुन हुन् भनेर चिन्ने ,

जस्तैः क, ख, ग, घ, अ , इ , उ अादि साउँ अक्षर र ह्स्व उकार र इकार लागेका लघु हुन्छन् । त्यस्तै का, खा,खी, घू , अा, दी, ए, कै , ताै , तो आदि दीर्घ मात्रा वा अन्य मात्रा लागेका गुरू वर्ण हुन्छन् । जुनसुकै छन्दमा पनि अन्तिम अक्षर लघु वा गुरू जे भए पनि त्यसलाई गुरु (दीर्घ) नै मानिन्छ । आधा अक्षर अगाडिका अक्षरले तान्छ भने अघिल्लो अक्षर ह्रस्व (लघु) भए पनि त्यो दीर्घ (गुरु) बन्दछ । जस्तैः कन्या यस शब्दमा क लघु भएतापनि न आधा अक्षरले कन् अक्षरलाई दीर्घ बनाएको छ ।

वासविन्दु वा विसर्ग लागेको अक्षर पनि दीर्घ मानिन्छ जस्तै :   अत:     दु:ख 

शिरविन्दु लागेको पनि दीर्घ मानिन्छ जस्तै : शंख   संकोच   संबन्ध   संध्या   संचार 

क्ष त्र ज्ञ यिनी तीन संयुक्त वर्णभन्दा पहिला रहेको अक्षर पनि दीर्घ हुन्छ :  विज्ञ   सत्र   कक्षा आदि ।

२) लघु अक्षरलाई ( I) र गुरू अक्षरलाई ( S ) सङ्केतले जनाइन्छ । तल छन्दको मुख्य सुत्र र सङ्केत दिइएको छ ।

। ऽ ऽ ऽ । ऽ । । । ऽ

य मा ता रा ज भा न स ल गा

३) प्रत्येक तीन अक्षरको समूहलाई गण भनिन्छ । यस्ता गणहरू ८ वटा छन् ।

गण     चिह्न    उदाहरण

यगण (य) ।ऽऽ भकारी

मगण (मा) ऽऽऽ चाैतारी

तगण (ता) ऽऽ। इस्लाम

रगण (रा) ऽ।ऽ पोखरा

जगण (ज) ।ऽ। पहाड

भगण (भा) ऽ।। दानव

नगण (न) ।।। कलम

सगण (स) ।।ऽ कमला

४) अब प्रत्येक छन्द कुनकुन गणको प्रयोग गरेर लेखिन्छ भन्ने हरेक छन्दका आ-आफ्नै सूत्रहरू छन् । जस्तै

क) शार्दूलविक्रीडित छन्द – म स ज स त त गुरु

SSS IIS ISI IIS SSI SSI S

ख) भुजङ्गप्रयात छन्द – य य य य

ISS ISS ISS ISS

ग) तोटक छन्द – स स स स

IIS IIS IIS IIS

५) अब यिनै गण अनुसार आफूले लेख्न चाहेको छन्दको गणहरू अनुसारका अक्षर, वर्ण मिलाउँदै शब्दहरू अर्थ र भाव आउने गरी विषयको शिलशिला मिलाएर लेख्न सकिन्छ ।

केही नमूनाहरू:

१) शार्दुलविक्रीडित छन्द – म स ज स त त गुरु

SSS IIS ISI IIS SSI SSI S

कन्यादान भयो थिए दुईजना भोका भगत् धर्मका

पानीदार विहा गरेर अँजुली जोडी दिए कर्मका

त्यो सम्बन्ध चसक्क हुन्छ मुटुमा काँडा र गाँठो बनी

मुर्दाझैं विचरी म-याै अब बरी वैधब्य भो जीवनी ।

       - महाकवि लक्ष्मीप्रसाद देवकोटा

सीता गाैतम बुद्धले टुकुटुकू गर्दै हिँडेको स्थल

पानी हैन शहीदको रगत हो नारायणीको जल

हुत्याएर बगाउँदै पर लगोस् सद्भावको छाल यो

माटोमा पसिना मुछेर म भनूँ प्यारो छ नेपाल यो ।

       - कवि श्री मनोज भण्डारी

२) भुजङ्गप्रयात छन्द – य य य य

ISS ISS ISS ISS

दिई दर्द झन् सर्प डस्दैछ ऐले

छिमेकी बिना शर्म पस्दैछ ऐले

हिजो दूध छाली पिएको बिरालो

थियो मस्त त्यो किन्तु फस्दैछ ऐले

   – कवि श्री सोम निराैला

म ठूलो तँ सानो नठानौं न मान्छे

म पाथी तँ मानो नठानौं न मान्छे !

उही ठाउँ बस्दा घटाई चिनारी

म मुट्ठी तँ दानो नठानौँ न मान्छे !

    - कविरत्न श्री जयदेव गोविन्द आचार्य

३) अनुष्टुप छन्द 

८ अक्षरको एक पाउ , जम्मा जम्मा चार पाउ, दुइ हरफमा समेटेर लेख्दा यसमा १६ अक्षरको एक हरफ हुने , प्रत्येक पाउमा ५ औं अक्षर लघु र पहिलो र तेस्रो पाउको सातौं अक्षर दीर्घ (गुरु) र दोस्रो र चाैथो पाउको साताैं अक्षर ह्रस्व (लघु) हुन्छ ।

अनुष्टुप्मा धेरै भेद छन् Xभएका ठाउँमा सधैं सबैखाले वर्ण राख्न मिल्दैन।प्रवाह नबिग्रिने गरी ह्रस्व लेखेको ह्रस्व र दीर्घ लेखेको दीर्घ वाचित हुने गरी लेख्नु पर्छ।दोस्रो चौथो पाउमा चाहिं ५६७८ ल ग ल ग हुनै पर्छ।

पहिलो पाउ

XXXXISSX

दोस्रेा पाउ

XXXXISIX

तेस्रो पाउ

XXXXISSX

चाैथो पाउ

XXXXISIX

(यहाँ x ले ह्रस्व वा दीर्घ जुन अक्षर राखे पनि हुन्छ भन्ने सङ्केत गरिएको हो ।)

देश छैन पिता छैन माता छैन न मित्र छन्

न बधु छन् न स्वास्नी छन् न कतै घरवार छन्

मुठी बाँधी यहाँ आयो मुठी खोलेर जानु छ

न छन् मुकुन्दका कोही न कसैको मुकुन्द छ ।

     - बालकृष्ण सम

४) मन्दाक्रान्ता छन्द – म भ न त त गुरू गुुरू

SSS SII III SSI SSI S S

छाना लाए घर हुन गयो जिन्दगी छैन भित्र

मुर्दा मुर्दा दुई दिल विहा गर्दछन् यो विचित्र

सारा हाँस्छन् खडेहर गरी जिन्दगीको पवित्र

बुझ्ने कोही त्रिभुवन विषे छैन हा मर्म भित्र ।

      - महाकवि लक्ष्मीप्रसाद देवकोटा

यै माटोमा टुकुटुकु हिडी बुद्धले ज्ञान बाँडे

माटो चुम्दै सहिदहरुले ढुक्क भै प्राण छाडे ।

माटो बाँचोस् भनिकन लडे वीर पुर्खा नहारी

ए मान्छे हो नगर झगडा एकता यो बिगारी ।।

     - कवि श्री जीवन काश्यप

५) जलधरमाला छन्द

(बाह्र अक्षरको पाउ हुने यस छन्दमा पहिले चार अक्षर दीर्घ,बीचमा चार अक्षर ह्रस्व र पछि चार अक्षर फेरि दीर्घ हुन्छन्)

SSSS IIII SSSS

बाबा आमा हितकर बोली भन्छन्

साना नानी अहित भनेझैं ठान्छन्

आफूलाई जुन जुन राम्रो लाग्छ

त्यस्तै सुन्ने मन त सबैको हुन्छ ।।

– आधुनिक आशुकवि श्री रमेश खकुरेल

६) छन्द कुसुमविचित्रा

न य न य

III ISS – III ISS

विश्राम – ६ मा

बुझ न मधेसी मुलुक नभाँड

रिपुसँग मिल्दै ह्रदय नफाँड

जमिन यही हो जससँग खेल्यौ

पवन यही हो सर सर फेर्यौ

       - कवि श्री सोम निराैला

७) छन्द शिखरिणी

१७ अक्षरको १ पाउ र ४ पाउको १ श्लोक हुन्छ ।

य म न स भ ल गु

ISS SSS III IIS SII I S

छ धर्तीमा शोभा अनुपम कतै प्रस्ट छ तर

कतै लुक्छन् भित्रै प्रकटित नभै चित्र लहर ।

कहाँ रित्तो हुन्थ्यो प्रकृतिभरिको जीवन रस

टिके हुन्थ्यो धेरै विविध रङको इन्द्र धनुष ।।

         - कवि श्री वासुदेव पाण्डे

८) छन्द अलोला 

गण:- म स म भ गुरु गुरु

संकेत:- ऽऽऽ ।।ऽ ऽऽऽ ऽ।। ऽ ऽ

तारा सुन्दर चम्कून् धर्ती उज्ज्वल होऊन् ।

नेपाली मन मैलो वर्षाले सरि धोऊन् ।।

सारा विकृति जे छन् आजैबाट हटाऊँ ।

आफ्नै गाैरवगाथा पुर्ख्याैली सब गाऊँ ।।

( सात सात अक्षरमा विश्राम )

         - कवि श्री नारद गाैतम

९)  छन्द  विद्युन्माला

मगण मगण गुरु गुरु

SSS SSS SS

छारो हानी तर्साएर

कालो छाया बर्साएर

डग्ने छैनौ सम्झी राख

खान्छौं हामी फर्साएर

       - कवि श्री सोम निराैला

१०) छन्द स्रग्विणी

SIS SIS SIS SIS

दौडिए जिन्दगी साँझमा रातमा

नित्यको खोजमा दालमा भातमा।

बेचिए कत्ति निर्दोष चेलीहरू

छन् पजेराहरू नाङ्गिदै मातमा ।

       - कवि श्री शान्ति सापकोटा

११) छन्द उपजाति

×ऽ। ऽऽ। ।ऽ। ऽऽ

टुटेर नै बादल झार्छ पानी

फुटेर नै पत्थर बन्छ खानी

फुट्यो भने बीज उमार्छ बोट

फुट्दा नठानौ सब हुन्छ खोट ।

       - पुष्प आचार्य

छन्दमा उपजाति कुनै दुई छन्दका पाउहरू मिलाएर बनाएको छन्दलाई उपजाति भनिन्छ।यसमा यतिवटा पाउ यसको भन्ने नियम छैन।सबभन्दा बढी चलेको इन्द्रवज्रा र उपेन्द्रवज्राको उपजाति हुन्छ र धेरैले उपजाति भन्नासाथ यही मात्र सोच्तछन्।यी दुई छन्दमा वर्णसङ्ख्या बराबर हुने र अघिल्लो यौटा अक्षर लघु गरे उपेन्द्रवज्रा र दीर्घ गरे इन्द्रवज्रा हुन्छ।वाचन गर्दा पनि खास फरक पर्दैन।यस बाहेक वंशस्थ र इन्द्रवंशा छन्दको पनि उपजाति धेरै चलेको छ।यसमा पनि पहिलो अक्षर लघु राखे वंशस्थ र गुरु राखे इन्द्रवंशा हुन्छ।जस्तो किः-

म पारखी भै रसको र रङ्गको

सन्देश बोकेर हिंडें अनङ्गको

लगाउँछौ प्रीत यहाँ मसङ्ग को

भन्दै चल्यो गुञ्जन गान भृङ्गको ।।

अनि अक्षर संख्या फरक परे पनि इन्दिरा र सुन्दरी छन्दको पनि उपजाति निकै चलेको छ।जस्तो कि;-

तरु र पातमा कुसुम फुल्दछन्

भृङ्ग गानमा मस्त झुल्दछन् ।।

यति मात्र नभएर अरू पनि धेरै छन्दहरूको उपजाति बनाउन सकिन्छ।मैले संस्कृतमा तीन अक्षर फरक भए पनि मन्दाक्रान्ता र स्रग्धराको उपजाति पनि देखेको छु।

    - आशुकवि श्री रमेश खकुरेल

१२) छन्द विद्युल्लेखा

छ अक्षरको पाउ र चार पाउको श्लोक हुने यस छन्दमा पनि विद्युन्मालामा जस्तै सबै अक्षर दीर्घै दीर्घ हुन्छन्।

छैनन् मान्छेवादी

कोही माओवादी

कोही खाओवादी

छैनन् मान्छेवादी

छैनन् भान्छेवादी ।।

कल्ले के भेट्ने हो

कल्ले के खाने हो

ठान्छन् मानौं मर्दा

साथै लैजाने हो ।।

पाओ लाओ खाओ

झन् झन् चढ्दै जाओ

चाँडै मौका पर्ला

तिम्रो सेखी झर्ला ।।

       - आधुनिक आशुकवि श्री रमेश खकुरेल

१३) छन्द प्रमाणिका

ISI SIS IS

म माझ प्रेमको चरो

कराउँदैछ सुस्तरी

नहान वाँड यस्तरी

उ रुन्छ घाइते परी

विशाल नेत्र ती ठूला

खुलेर निल्नखोज्दछन्

म डुव्छु त्यो तलाउमा

लगाउ पार सुन्दरी।

      - कवि श्री रामशरण न्याैपाने

१४) छन्द चम्पकमाला

भमसगु ऽ।। ऽऽऽ ।।ऽ ऽ

शङ्कर बाबा शङ्कर बाबा

दुःख निकै भो शङ्कर बाबा

दुष्टहरूले शासन गर्छन्

सज्जनलाई ताडन गर्छन् ।।

भन्न म जाने ठाउँ रहेन

के भनुँ बाँकी चीज रहेन

अन्त कसैले हाय सुनेन

आश छ तिम्रै सह्य भएन ।।

वानर मात्रै माथि गएछन्

देश सबै यो ध्वस्त गरेछन्

लोभ र सत्ता साथ परेछ

स्वार्थ डँढेलो फैलिरहेछ ।।

लौ प्रभु तेस्रो लोचन खोल

पाप बढेको कल्मष पोल

सज्जनलाई शान्ति दिलाऊ

देश सुधार्ने मार्ग खुलाऊ ।।

     - आधुनिक आशुकवि श्री रमेश खकुरेल

१५) छन्द इन्द्रवज्रा

ततजगागा ऽऽ। ऽऽ। ।ऽ। ऽऽ

भाषा टिके गौरव टिक्न सक्छ

पुस्ता नयाँले पनि सिक्न सक्छ ।।

साहित्य वा शास्त्र अमूल्य हुन्छन्

मान्छे त पैसा-सित बिक्न सक्छ ।।

    - कविरत्न श्री जयदेव गोविन्द आचार्य

१६) छन्द  श्री

गण- ऽ

उदाहरण-

आ: यो।

के हो?।।१।

      - कवि श्री टेकनारायण रिमाल”कौशिक”

१७) छन्द स्वागता

गण-मात्राः- र न भ गुरु गुरु

SIS III SII S S

अङ्ग-भङ्ग हुन गो गरिखाने

छैन चाहत उसै मरिजाने ।

भन्दथे जिजु सधैँ तर साने !

सत्यमेव जयते परिणामे ।।

       - कवि श्री कृष्ण वस्ती

१८) छन्द रथोद्धता

रनरलगा

ऽ।ऽ ।।। ऽ।ऽ ।ऽ

भो भयो अब यता नफर्कनू

दुख्छ घाउ जल भै नदर्कनू

जे भयो नियति सम्झँदै बसूँ

टुट्छ चित्त अझ यो नझर्कनू ।।

      - कवि श्री रामहरि शर्मा

१९)  छन्द वियोगिनी

१,३ससजगु २,४सभरलगा

।।ऽ ।।ऽ ।ऽ। ऽ

।।ऽ ऽ।। ऽ।ऽ ।ऽ

तनमा कुन तत्व पो पस्यो ?

मनमा त्यो किन गै कता बस्यो?

धन दौलतको नशा चढ्यो

जनको जीवन लौ यसै बित्यो !

    - पुष्प आचार्य

२०) यस वियोगिनी छन्दको चारै पाउको अन्त्यमा एक गुरु थप्दा वसन्त मालिका छन्द बन्दछ । यसमा विजोर पाउमा एघार र जोर पाउमा वाह् अक्षर हुन्छन् । यो सगण सगण जगण दुई गुरु विषममा र सगण भगण रगण यगण सममा हुने वार्णिक छन्द हो ।

२०) छन्द वसन्त मालिका

।।ऽ ।।ऽ ।ऽ। ऽs

।।ऽ ऽ।। ऽ।ऽ ।ऽs

शवको कुन हुन्छ कामना नै ?

शवको के छ र भित्र भावना नै ?

शव मै छु भने जसो गरून् लौ !

म नबोलूँ बरु यी शिरा मरून् लौ !

     - महाकवि लक्ष्मीप्रसाद देवकोटा

२१) छन्द इन्दिरा

न र र ल गा

।।। ऽ।ऽ ऽ।ऽ ।ऽ

अब त माहुरी भुन्भुनाउँदै

गति बढाउँदै गुन्गुनाउँदै

सुन यहाँ नयाँ वर्ष हर्षको

नजिक नै उही आउँदैछ है।

मन त्यसै त्यसै व्यग्रतासँगै

जटिल रुपले कल्पिँदैछ है

छिनछिनै नयाँ हुन्छ जो सधैँ

मन रमाइलो पार्छ त्यै सबै ।।

      - कवि श्री दिव्यचन्द्र आचार्य

२२) छन्द रूपामाली

म म म

ऽऽऽ ऽऽऽ ऽऽऽ

हामी माली बालीनालीका

हामी फाली मेची कालीका

मर्यादा हैाँ भावी पुस्ताका

निर्माता हैाँ सीमा सुस्ताका ।

        - कवि श्री भुवनहरि सिग्देल

मेरी यौटी सानी छोरी छे

बा आमाकी साह्रै प्यारी छे

केही काली केही गोरी छे

हेर्दै नेपालीकी छोरी छे ।।

      - कवि श्री रमेश खकुरेल

२३) छन्द उपेन्द्रवज्रा

।ऽ। ऽऽ, । ।ऽ। ऽऽ

उडेर आका-स कहाँ चुमिन्छ

सुतेर घैटो कसरी भरिन्छ

मनुष्य आभा-ष बिना रमेर

मरेर स्वर्गै कसरी पुगिन्छ ।

       - कवि श्री मुकेश रिजाल

२४) छन्द शालिनी

ऽऽऽ ऽऽ। ऽऽ। ऽऽ

लामो यात्रा पारगर्दै म आए

सामुन्नेमा भैदिदा लौ रमाए

बाधा धेरै देखियो प्राण हाय

खस्दा ढिक्काआँशु सार्है डराए ।

         - कवि श्री ऋषिराम खनाल

हामी तिम्रा मित्र भन्दै फकाए ।

गर्छौं हाम्रै काम भन्दै छकाए ।।

हाम्रा पीडा कष्टका भाव चोरी ।

साख्खे बन्दै देखिए काँध जोरी ।।

        - कवि श्री टिका शर्मा

२५)  छन्द  मालती

III ISI ISI SIS

नयन कटाक्ष छुरा भनूँ कि के !

छमछम बज्छ चुरा भनूँ कि के !

चलपल त्यो नखरा हिंडाइको

अलि गहिरो छ कुरा भनूँ कि के !

         - कवि श्री सोम निराैला

२६) छन्द द्रुतविलम्वित

।।। ऽ।। ऽ।। ऽ।ऽ

नयनभित्र नदी छ समुद्र छ।

तर मुहान उही छ-वि-चित्र छ।।

सकल भावहरू मनमा थिए।

नयनबाट बगे अनि रित्तिए।

       - कवि श्री लक्ष्मण संगम

२७) छन्द मणिमाला

SII SSS IIS

खोल्दछ पर्दा त्यो नयमा

बल्छ सधैं नै जागरमा

खुल्छ सबै तारा जसरी

पुग्छ रबी झै सारा नगरी

       - कवि श्री सन्तोष अधिकारी

छन्द बगेको जो कविता,

सुन्न मजाको संगम हा।

बन्दछ त्यो सङ्गीत अनि,

सुन्नु सबैले मुग्ध बनी।

       - कवि श्री इन्द्र अधिकारी

२८) छन्द पञ्चचामर

ISI SIS ISI SIS ISI S

बसेर देशको सधैँ गरेर हीत खातिर

मरेर लानु के छ यो अजम्बरी त को छ र

विदाइ दिन्छुु हातले विदाइ गर्छुु बातले

विदाइ भन्दियाँ सबै दिनै दिनै र रातले ।

        - कवि श्री जीवन हरि शर्मा

प्रभातकी उषासंगै झलल्ल व्योम झल्किदा

भरेर रक्त रंग त्यो हिमाल टल्ल टल्किदा

गुराँसले ढपक्क भै पहाड ओढ्छ आँचल

कहाँ छ बन्न शेषमा छ छन्द मन्द सुन्दर ।

        - कवि श्री शम्भु भट्टराइ

२९) छन्द अपराजिता

अपराजिता नौ र्‌सौ ल्‌गौ स्वरऋषयः (पिङ्गल ।।७।६।।)

ल ल ल ल ल ल ला, ल ला ल ल ला ल ला

(यसको सात सात अक्षरमा विश्राम हुन्छ)

छल र वल गरी थुनीकन बाँधियो

डङ कि डङ पिटी अचेत बनाइयो

सुरुरुरु सुइरो उनीकन नाथियो

मृगपति त अझै उही स्वर गर्जियो ।।

       - कवि श्री रमेश खकुरेल

३०) वसन्ततिलका

ऽऽ। ऽ।। ।ऽ। ।ऽ। ऽऽ

रात्री गयो अब प्रभात भएर आयो

छायो सबैतिर प्रभा सविता उदायो।

निद्रा हटेर अबता अतिदूर जाओस्

श्रीसूर्यका किरणले जगजग्मगायो।

        - कवि श्री नारायण निराैला

३१)  छन्द प्रीतिमाला

SSS ISI SSI ISI SII S

छाती बेस्सरी जलाई,जल नेत्रको सलाई

फ्याक्दै पासमा नआई,घरबाट दृष्टि लाई

भै लज्जावती लजाई,परबाट झ्यालबाट

खै!को डाक्छ त्यो मलाई?परबाट झ्यालबाट

         - कवि श्री कवि बजगाई

३२)  छन्द मदिरा

सङ्केतः ऽ।। ऽ।। ऽ।। ऽ।। ऽ।। ऽ।। ऽ।। ऽ

ताल बन्यो मदिरा र कुवा पनि भो मदिरा भवसागर भो

सृष्टि जलामय भो मदिरा तब यो दुनियाँ पनि मातिदियो

ढल्पल छन् सबथोक यहाँ जति मातिदिए त्यति चक्करको

घुम्दछ फन्फन लोक छ होशविहीन अशान्त उसै हुन गो ।

        - कवि श्री चन्द्रप्रसाद न्याैपाने

३३) छन्द  मेघविस्फूर्जिता

ISS SSS III IIS SIS SIS SS

लुलाले सिर्जेका अनुपम मिठा, लेख “हावा” हुँदै छन्

बडाले खोकेका, अति विरसिला, शब्द “वा वा” हुँदैछन्

ठगाहा वा जाली, मुलुकभर नै, फैलिए तन्तु-जस्तै

कठै ! सोझा-सादा, परतिर पुगे, “जङ्गली जन्तु” जस्तै !

        - कवि श्री जयदेव गोविन्द

३४)  छन्द वंशस्थ

ISI SSI ISI SIS

पियारको वन्धन पो खडाभयो

यहाँ तगारो मनको कडा भयो

विदेशिने भूत थियो वडारियो

स्वदेश नै अम्रितको घडाभयो ।

         - कवि श्री रामशरण न्याैपाने

३५) छन्द चोकार्पो

छन्द निर्माता आदर्णिय गुरु पोष्टराज चापागाईं

lSl SSl SSS

विश्राम – ५ अक्षरमा

कहाँ पुगेको कहाँ झर्ने

यता टलेको उता पर्ने

छ जिन्दगानी पुरै रित्तो

अपूर्ण जस्तै कता भर्ने

        - कवि श्री दीपेन्द्र न्याैपाने

३६) छन्द मात्रिक

१४ मात्राको एक हरफ हुने यस मात्रिक छन्दमा दीर्घ मात्रा २ र ह्रस्व मात्रा १ गनिन्छ ।

म पनि रिले अनसनमा छु

खाएपछि हाजिर हुन्छु

भोक नलाग्दातक बस्छु

अर्को आउँछ अनि हिंड्छु ।।

         - आशुकवि श्री रमेश खकुरेल

३७) छन्द आर्या (मात्रिक छन्द)

धन्य छ नारी जीवन, कसले बुझ्न सक्ला र तिम्रो मन

भित्र वेदना दन्दन , तर पनि बाहिर मुस्कुराउँदै छन् ।।

माइत जाँदा घरको, गर्नै पर्ने सधैंभरि बडाइ

घरमा माइत ठूलो , भन्छिन् सज्जन मेरा दाइ भाइ ।।

आफ्नै दुइटै आँखा ,जुन घोचे पनि आफैलाई दुख्ने

तर यौटा आँखाले , अर्कोलाई कसै गरी नदेख्ने ।।

         - आशुकवि श्री रमेश खकुरेल

३८)  छन्द  प्रमिताक्षरा

IIS ISI IIS IIS

तर यार प्यार नगरी नहुने

उनको समीप नसरी नहुने

भव नै भयानक पियार बिना

सजिलो थिएन नलरी नहुने ।

         - कवि श्री सोम निराैला

३९) छन्द तोटक

IIS, IIS, IIS, IIS

सयमा कति छाै किन भन्नु पर्यो ?

अनुमान सही किन गन्नु पर्यो ?

नचिनी नबुझी कति छाै गहिरो,

सतही नहरै किन खन्नु पर्यो ?

       - कवि श्री जीवराज बुढाथोकी

अबता अति भो,अति नै खति भो।

सबको मति लौ अति भ्रष्टभयो।।

कति बस्नु हरे,गरि कान बुझो।

अब पार लगाउन अाउ प्रभो।।

       - कवि श्री कोशबल्लभ रेग्मी

४०)  छन्द पृथ्वी (समवृत्त)

अचम्म अति लाग्छ है किन शरीरका अङ्गमा

विभेद नहुने कठै अधर वा कनिष्ठाङ्गमा ।

परस्पर मिली सधैँ किन समष्टिकै चाहना

अनन्त यति छन् परन्तु अझ एकता भावना ।

       - कवि श्री दिव्यचन्द्र आचार्य

४१)  छन्द  दुर्मिला

IIS IIS IIS IIS IIS IIS IIS IIS

जब यो युग नै अलमल्ल भयो, तब यो जग नै खलबल्ल भयो

रस चुस्छ सधैं भमरो र जुको, अनि फूल सुकी असरल्ल भयो

दिन पूर्ण नभै किन रात भयो, रवि छैन कि त्यो बिचरो नभमा ?

तल खान हुने जल छैन कतै, किन माथि घरै झलमल्ल भयो ।।

       - कवि श्री जयदेव गोविन्द आचार्य

४२)  छन्द स्रग्धरा

SSS SIS SII III ISS ISS ISS

पाखामा खेतमा यी लहलह गहुँका पुष्ट बाली झुलार्इ

मान्छेको चेतलार्इ प्रकृतिलयसँगै दूर तान्दै डुलार्इ ।

डाँडामा कान्ति छर्दै मनुज हृदयमा भाव नौला फुरार्इ

आयो सङ्कल्प राम्रा दिन मन मनमा वर्ष यो मुस्कुरार्इ ।

       - कवि श्री गिरिराज जोशी

द्यौतामा कुन् ठूला हुन् भनि कन पहिले जाँच गर्ने भनेर

हानेछन् लात छाती बिच भृगु ऋषिले बिष्णुलाई कसेर

उल्टै खुट्टा मुसारे जब भृगु ऋषीको बिष्णुले बार बार

तस्मात् पूजा गरौँला दिन दिन हरिको यै छ मेरो विचार ।

       - कवि श्री पिताम्बर खतिवडा

हाम्रो यो वज्र छाती कठिन सङ निकै साधना झैं वनेको

आफ्नो ज्यादै लुलो त्यो मन विच कमलो ले धुरुक्कै रुवायो !

धोका धोका ! सधैं नै अरु सव खुस छन् !दुख्ख वोक्ने त हामी !

वाँझो धर्ती छ सुख्खा डढिकन पृथिवी सोझिने मात्र सोझो !

       - कवि श्री चुडामणि रेग्मी

४३)  छन्द बिधाता

ISS SIS SSI SSS ISS S

उनी रानी म ता राजा बनेको त्यो कुरा आयो

सगै बाचौ मरौ हामी भनेको त्यो कुरा आयो ।

सुनाएका कथा टुक्का अझै ओठै भरीनै छन्

मुटूनै जोडने बाटो खनेको त्यो कुरा आयो ।

मिठो माया थियो हाम्रो बडो लोभ्याउने सारा

सिमा रेखा सधै लौ नागनेको त्यो कुरा आयो ।

     - कवि श्री इलामेली टिकाराम दुलाल

४४) छन्द मनिका

।।$, ।$$,।$$, $।$,$

गण- स, य, य, र, गु

विश्राम-४ र ८ मा

गणतन्त्र आयो अरू, के पो पुगेन?

र शहीद,का रक्तका, टाटा सुकेन।।

अझसम्म नेपालको, ढोका खुलेन ।

जनता त दुःखी अझै , सत्ते फुलेन।।

         - कवि श्री महादेव अधिकारी

४५)  छन्द हरिणी

हरिणी नसमरसलगा

।।। ।।ऽ ऽऽऽ ऽ।ऽ ।।ऽ ।ऽ

कुसुमदल ! फक्रेको उद्यानमा किन हो भन ?

भ्रमरकुल झुल्दै छन् माधुर्यको कविता लिन

हृदयवन यो मेरो आराम हो यसमा भुल

घुनुनुघुनु घुन्केरै भित्रै छ सत् त्यसमा डुल ।

       - कवि श्री मुकुन्द शर्मा

४६)  छन्द दिक्पाल

SSI SIS SSS ISI SS

थामेर हात तिम्रो,बाँचे म आज सम्म

पाएर साथ तिम्रो,बाँचे म आज सम्म

गर्छ्यौ अनन्त माया,विस्वासले भरेको

देखेर प्यार तिम्रो,बाँचे म आज सम्म ।

      - कवि श्री कोमल भट्ट

४७)  छन्द चित्रपदा

अनुष्टुप् छन्दका अनेकौं भेदमध्ये यो भेद चित्रपदा हो।आठ अक्षरको पाउ र हरेक पाउमा दुई भ गण तथा दुई गुरु हुन्छन्।(चित्रपदा भौ गौ-पिङ्गल)

विश्व मुहार हँसाऊ

जान जतातिर जाऊ, यै घरमा मन लाऊ

देश रुने नगराऊ, जो सकिने श्रम लाऊ ।।

फूल सुकोमल हुन्छन्,स्नेह गरेर समाऊ

सुन्दरता नबिगारी, बास लिएर रमाऊ ।।

जीवन सार्थक पारी, व्यर्थ कुरा नचलाऊ

प्रेमसुधा रस छर्दै, विश्व मुहार हँसाऊ ।।

        - कवि श्री रमेश खकुरेल

४८)  छन्दपुष्पिताग्रा

अर्धसमवृत्त (पहिलो पाउ र तेस्रो पाउमा १२ अक्षर र दोस्रो तथा चौथो पाउमा १३ अक्षर हुने)

पहिलो र तेस्रो न न र य तथा दोस्रो र चौथो न ज ज र गु हुन्छ।उदाहरणः-

नारी (अघोरी महाकाव्यबाट)

जनन हुन समेत बाबु खोज्ने

जनन भए उसकै छ वंश बढ्ने

हुकुम पनि उही डटेर गर्छ

किन जननी तल पर्नु नित्य पर्छ ।।

        - कवि श्री रमेश खकुरेल

४९)  छन्द माद्री

ISI SSI ISI S

(विश्राम – ५ अक्षरमा)

म वेदनामा कसरी बसौँ

प्रताडनामा कसरी बसौँ

बढे सधैं नै मनमा व्यथा

छु तर्कनामा कसरी बसौँ

थियो भने पङ्ख म उड्दथें

विडम्बनामा कसरी बसौँ

जताततै देख्दछु जाल झैं

कुभावनामा कसरी बसौँ

हुँदैन आफ्नो परदेश यो

अचिन्तनामा कसरी बसौँ

विरानु झैं लाग्छ सबै यहाँ

छुचोपनामा कसरी बसौँ

झुकेन यो शिर कतै पनि

र याचनामा कसरी बसौ ।

        - कवि श्री कोमल भट्ट

५०)  छन्द सुप्रतिष्ठा

SII SS

हेर बिराला ।:-

धूर्त छ चाला

हात छ ताला ।

छन् मन काला

हेर बिराला ।।

       - कवि श्री नारद गाैतम

५१) छन्द तूणक अथवा चामर

गणः र ज र ज र

सङ्केतः SIS ISI SIS ISI SIS

होस राख, दोष छोड, कर्म गर्न तम्सिद्यौ

काममा छ चित्त भने बन्छ देश संझिद्यौ

एक एक जोड बन्छ खुल्छ फुल्छ एकता

रोग, भोक, शोक जे छ हुन्छ हुन्छ बेपता ।

लोभ त्याग, मोह त्याग चित्त शुद्ध पारिद्यौ

मर्नुपर्छ संझ देह अर्थपूर्ण पारिद्यौ ।

सोच राख शोधतर्फ गाउँ गाउँ फर्क हे

गाउँमा छ शान्ति अन्त बस्न खोज हुन्छ के?

कर्मभित्र मर्म हुन्छ कर्मभूमि रोज न

आफ्नु मात्र सोख छोड सत्य मार्ग खोज न

स्वार्थ त्याग, भेदभाव नास, मास मेटिद्यौ

जातपात, क्षेत्र, वर्ग मेट्न साथ भेटिद्यौ ।

       - कवि श्री शम्भु भट्टराइ

५२)  छन्द अनुष्टुप

कोसको छ लता हेर रहे ताल छ कोसको ।

को जुका वनमा खेदे देखे मानव काजु को ?

*

योगमा लीन नै माता तामा नै नलीमा गयो ।

यो त खेल तमासा हो हो सामा तल खेत यो ।।

*

( शुरुबाट आठ अक्षर पढेपछि त्यही उल्टो पढ्दा पल्लो पाउ बनेको हुन्छ ।)

        - कवि नारद श्री गौतम

५३) छन्द सत्यवती

सूत्र- SII, SSI, SIS, S

गण- भ, त, र, गु

(५अक्षरमा विश्राम)

आखिर छोटो छ जिन्दगानी

बन्नु छ हामी सबै खरानी

रोदन कैले,खुसी छ कैले

खप्दछ जाडो र घाम पानी

दुर्लभ लाग्यो,सुशान्ति भेट्न

बित्छ दुखेरै,मिठो जवानी

नश्वर चोला,उडेर जान्छ

तैपनि हुन्छौँ,असावधानी

साथ छ जाने,सुकर्म मात्रै

दुर्गुण सारा,गरौँ फॅडानी

लोभ र लाल्सा,भुलौँ सबैले

‘कोमल’ बन्दै,रचौँ कहानी

           - कवि श्री कोमल भट्ट

५४) छन्द  चित्रा

द्यौरालीमा पाती मेरो नाम अर्को परेछ

सानो छाया प्यारो लाग्थ्यो घाम चर्को परेछ

इन्द्रेणीको सानो धर्सो कोरियो मेटियो त्यो

भिज्ने खोज्थ्यो थोपाथोपा रुग्ण दर्को परेछ ।

         - कवि श्री सोम निरौला

५५)  छन्द सुप्रतिष्ठा

SII SS

हेर बिराला ।

धूर्त छ चाला

हात छ ताला ।

छन् मन काला

हेर बिराला ।।

कवि श्री नारद गौतम

५६) छन्द इन्द्रवंशा

को हुन् कुदेका किन जालझेलमा

को हुन् डुबेका किन रक्तभेलमा

आदर्श बिर्से किन यी कृतघ्‍नले

के सम्झदा हुन् प्रिय पुष्पलालले ?

         - कवि श्री रोहित पराइ

त्यागेर सारा मनका अनेक ती

गाँठो परेका सब तर्क, आरती

जो भक्तिले गर्न बसे सबै जन

भन्छन् छ हाम्रै अति शुद्ध यो मन

         - कवि श्री पद्म देवकोटा

५७)  छन्द रुक्मवती

भाव विनाको बन्दछ नारा।

जून फुलाऊ व्योम सितारा।।

आकृति राम्रो बन्छ कलाले।

यत्ति नबुझ्दै लेखन थाले।।

         - कवि श्री महादेव अधिकारी

५८)  छन्द  चन्द्रलेखा

“आजै एकादशी माछा ता नखाऊँ तुलासी”।

अर्पौं श्री विष्णुमा माला तोरणै फूल गाँसी ।

छन् द्यौता देहमा पूजाका त भोका नराखौं।

आध्यात्मिक् नै बनौं हामी ज्ञानले हाँसिहाँसी ।

        - कवि श्री ढाका थापा

५९)  छन्द शङ्खनारी

सूत्र-।ऽऽ ।ऽऽ

गण-य य

विश्राम-तीनमा

कथा जिन्दगीको

थिएँ नेत्रनानी

हुँदामा जवानी।।

छुट्यो साथ चाॅडै

नमिल्दा कहानी।।

थियो पुत्र जाती

पुकारेँ भवानी।।

जसै देश छोड्यो

भयो बेइमानी।।

न आयो यता ऊ

छ कर्तव्य ठानी।।

गर्यो बास बस्न

घरैमा लगानी।।

        - कवियत्री श्री श्रेष्ठ मञ्जु

६०) छन्द अचलधृति

लक्षण : द्विगुणितवसुलघुभिरचलधृतिरिह ।( वसु अर्थात् आठ लाई दुगुना गर्दा हुने १६ वटा लघु वर्णबाट बन्ने छन्द ।

अविरल चरण-रज अभिलषित म छु

द्रवित छ हृदय तर अविचलित म छु

अभिरमित छु अझ म जप र तपसित

अनुचरमय सविनय अनुरत म छु ।

       - कवि श्री केशवराज आमोदी

६१)  अनुकूला छन्द (समवृत्त)

यो छन्दको प्रत्येक पाउमा ११ अक्षर हुन्छन् ।

गण लक्षणमा भगण, तगण नगण र गुरु गुरु हुन्छन् ।

यसमा पाचौँ र एघारौँ अक्षरमा विश्राम हुन्छ ।

अनुकूला छन्द (समवृत्त)

हेर यहाँ छन् अतिशय पीडा

खप्दछु जम्मै हरदम हाँसी I

रम्दछु आफैँ तरपनि आँशू

बन्दछ धारा नयन बगेरै II

          - कवि श्री दिव्यचन्द्र आचार्य

६२) छन्द मातृक (चौपाइ)

“कर्मवीर बन्नुछ”

सूर्य किरणले तिमिर हरायो!

दुनियाँ उज्ज्वल मधुर गरायो!!

पन्छी चिर्बिर चिर्बिर गर्छन् !

पलपल मुग्ध गरी मन हर्छन्!!

अरुण उषासँग ईश्वर हाँसे!

जीवन ऊर्जा दिइकन नाचे !

मधुकर गु्ञ्जन गर्दै उड्छन् !

जीवन कणकण भर्दै उड्छन् !!

पावन पथ अघि बढ्नैपर्ने !

जीवन रथबिच चढ्नैपर्ने !!

लड्नैपर्ने जगको रीति !

गर्नैपर्ने यो रणनीति !!

            - कवि श्री कृष्ण पौडेल                                                                                                                        (Taken from different sources from across the web).                                                                 Yagya Kumar Niraula

                               ***


No comments:

Post a Comment