मेरो जीवनको सुरुवात वि.सं. २०२५ साल माघ १८ गते भारतको मणिपुर राज्यमा भयो। बाल्यकालको केही वर्ष त्यहीँ बिताएपछि मेरो परिवारले नेपाल फर्कने निर्णय गर्यो र वि.सं. २०३० सालमा मोरङ जिल्लाको इटहरा-४ (हाल रतुवामाई-९) मा स्थायी बसोबास आरम्भ भयो।
विद्यालय जीवनको सुरुवात वि.सं. २०३२ सालमा श्री सरस्वती निम्न माध्यमिक विद्यालय (हाल माध्यमिक विद्यालय), इटहराबाट भयो। यहीँ मैले कक्षा १ देखि ७ सम्म अध्ययन गर्दै ज्ञानयात्राको जग मजबुत बनाएँ।
तर मेरो जीवनको विशेष मोड वि.सं. २०३९ भदौ ३० गते (इस्वी सन् १९८२ सेप्टेम्बर १५) मा आयो, जब मैले भारतको उत्तर प्रदेश, नोएडा नजिकैको सलारपुर, भंगेल बजारस्थित महर्षि महेश योगीको आश्रममा प्रवेश गरेँ। त्यहाँ मैले रूद्राष्टाध्यायी, लघुसिद्धान्त कौमुदी लगायतका संस्कृत ग्रन्थहरूको अध्ययनसहित त्रिकाल सन्ध्या, भावातीत ध्यान आदि साधनाहरूको अभ्यास गरेँ।
सन् १९८४ तिर, जीवनको सत्य र आध्यात्मिक अनुभूतिको गहिरो खोजमा म महर्षि आश्रमबाट बाहिरिएँ र वृन्दावनको यात्रातिर लागेँ। त्यहीँबाट मेरो संस्कृत अध्ययन र साधनात्मक जीवनको नयाँ अध्याय सुरु भयो।
सन् १९८५ मा मैले गुरु गंगेश्वर वेददर्शन संस्कृत महाविद्यालय, श्रोतमुनि निवास, वृन्दावन (सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीसँग सम्बन्धन प्राप्त) बाट पूर्वमध्यमा प्रथम खण्ड (नव्य व्याकरण) उत्तीर्ण गरेँ, र सन् १९८६ मा सोही तहको द्वितीय खण्ड पूरा गरेँ। त्यसपछि सन् १९८७/८८ मा प्रेम महाविद्यालय इण्टर कलेज, केशीघाट, वृन्दावनबाट कक्षा ११ (हिन्दी, अङ्ग्रेजी, अर्थशास्त्र, नागरिक शास्त्र विषयसहित) र सन् १९८९ मा सोही कलेजबाट कक्षा १२ उत्तीर्ण गरेँ।
वृन्दावनमा मेरो बसाइ सन् १९८४ देखि १९८९ सम्म रह्यो। यस अवधिमा मैले गोरेदाउजीको आश्रम, टाटम्बरी आश्रम, राधारमण (निधीवन नजिक), कुञ्जविहारी आश्रम (तोताद्री मठ र सुदामा कुटी नजिक) लगायतका पवित्र स्थानहरूमा बस्दै अध्ययन र साधनामा आफ्नो जीवन समर्पण गरेँ।
संस्कार र ज्ञानले सम्पन्न मन लिएर जब म नेपाल फर्किएँ, तब मेरो जीवनले नयाँ बाटो समात्यो - शिक्षण र समाजसेवाको। वि.सं. २०४७-०४९ को समूहबाट मैले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस (त्रिभुवन विश्वविद्यालय)बाट बी.ए. (अङ्ग्रेजी र राजनीति शास्त्र) उत्तीर्ण गरेँ। त्यसपछि वि.सं. २०६५ मा मदनआश्रित मेमोरियल बहुमुखी क्याम्पस, केरखा (पूर्वाञ्चल विश्वविद्यालय) बाट एकवर्षे बि.एड. (अङ्ग्रेजी), र सन् २०१५ मा अन्नपूर्ण कलेज, बिराटनगर (पूर्वाञ्चल विश्वविद्यालय)बाट एम.एड. (अङ्ग्रेजी) उत्तीर्ण गरेँ।
शिक्षण सेवा मेरो जीवनको आत्मा हो। वि.सं. २०५० बैसाखदेखि करिब नौ महिनासम्म मैले श्री जनता निम्न माध्यमिक विद्यालय (हाल माध्यमिक विद्यालय), ठकठकियामा अध्यापन कार्य प्रारम्भ गरेँ। त्यसपछि वि.सं. २०५१ तिर करिब एक वर्ष बिराटनगरमा व्यापारिक कार्यमा संलग्न भएँ। तर शिक्षणप्रतिको लगाव र सेवाभावले मलाई पुनः सोही क्षेत्रमा फर्कायो।
वि.सं. २०५२ चैत्र २८ देखि निरन्तर शिक्षण क्षेत्रमा सक्रिय छु। २०५२ चैत्र २८ देखि २०६० चैत्र २९ सम्म म माध्यमिक तहमा अङ्ग्रेजी विषयकाे अस्थायी शिक्षकको रूपमा कार्यरत रहेँ। वि.सं. २०६० चैत्र ३० गतेदेखि स्थायी नियुक्ति पाएँ र त्यसयता अविरल रूपमा शिक्षण सेवामा समर्पित छु।
हाल म श्री सुनवर्षी माध्यमिक विद्यालय, रतुवामाई-५, मोरङमा अङ्ग्रेजी विषयकाे माध्यमिक तहकाे शिक्षकका रूपमा कार्यरत छु। सोही विद्यालयमा वि.सं. २०७७ साउन ५ गतेदेखि २०८१ साउन २७ गतेसम्म (कुल ४ वर्ष २३ दिन) प्राचार्यको जिम्मेवारी वहन गर्ने अवसर पाएको छु। वि.सं. २०८१ साउन २८ गतेदेखि आफ्नाे व्यवहारिक कारणले सहायक प्राचार्यज्यूलाई सो जिम्मेवारी हस्तान्तरण गरी हाल माध्यमिक तह द्वितीय श्रेणीकाे शिक्षक (मिति २०७९/०७/१७ देखि ज्येष्ठता गणना हुने गरी ) का रूपमा कार्यरत छु।
जीवनका यी यात्राहरूले मलाई एउटा गहिरो बोध दिएको छ - ज्ञान, साधना र सेवा नै मानव जीवनको साँचो सार हो। मेरो जीवन सधैँ यसै त्रिवेणीमा समर्पित रहन्छ।
📞 सम्पर्क विवरण:
Viber: ९८४२२५०९७२
WhatsApp: ९८१९३३२०३२
इमेल: ykniraula@gmail.com
***

No comments:
Post a Comment